 |
 |
स्वच्छ र सुरक्षित खानेपानी तथा उचित सरसफाइको सुविधा मानिसका आधारभूत आवश्यकता हुन्। यी सुविधाहरु स्वास्थ्य, उन्नति र विकालागि अपरिहार्य तत्व पनि हुन्। यद्यपि, नेपालको जनसंख्याको एउटा ठूलो हिस्सा अझसम्म पनि यी सुविधाहरुको उपयोग गर्नबाट वञ्चित छ। केवल जनसंख्याको ७७ प्रतिशत हिस्साले धारा तथा ट्युववेलबाट प्राप्त हुने तुलनात्मक स्वच्छ/सुरक्षित खानेपानीको सुविधा उपयोग गर्न पाएको छ (तीन वर्षे अन्तरिम योजना २०६४ का अनुसार)। विपन्न र विकासको मूलधारबाट वञ्चित अधिकांश मानिसहरु, जो पानीको मुहान वा भूमिगत पानीको भण्डारको पहुँचभन्दा टाढा बसोबास गर्दछन्, उनीहरुलाई अझसम्म यी सुविधाहरु उपलब्ध गराउन सकिएको छैन।
देशको आधारभूत सरसफाइको अवस्था अत्यन्त नाजुक छ। सरकारी तथ्याङ्कका अनुसार ४६ प्रतिशत जनसंख्याले मात्र उचित चर्पी प्रयोग गर्ने गरेका छन्। जबकि आधाभन्दा बढी जनसंख्या अर्थात् १ करोड ४२ लाख मानिसहरु खुल्ला ठाउँमा दिसापिसाब गर्न बाध्य छन्। प्रत्येक वर्ष ठूलो संख्यामा मानिसहरु खानेपानी र सरसफाइको उचित सुविधाको अभाव र सरसफाइसम्बन्धी चेतनाको अभावले गर्दा विभिन्न रोगव्याधिबाट ग्रसित हुने गर्दछन्, यो ठूलो संख्यामा मानिसहरुको अकाल मृत्युको कारण पनि बन्ने गरेको छ।
सन् २०१५ सम्ममा खानेपानी र सरसफाइ क्षेत्रमा लिइएको सहस्राब्दी विकास लक्ष्य तथा सन् २०१७ सम्ममा सबै नेपालीलाई यी सुविधाहरु उपलब्ध गराउने राष्ट्रिय लक्ष्य हासिल गर्ने चुनौती राष्ट्रका सामु छ। यो काम वृहत् राजनैतिक प्रतिबद्धता र यस क्षेत्रमा व्यापक लगानी बढाएमा मात्र संभव हुने देखिन्छ। खानेपानी र सरसफाइ क्षेत्रमा गरिने लगानीले वर्सेनी पाँच वर्ष उमेर नपुगेका १३ हजार नेपाली बालबालिकालाई मृत्युको मुखबाट बचाउन सक्छ (युनिसेफ २००५) र सरसफाइको अभावले लाग्ने रोगब्याधिबाट बिरामी भई उत्पादनशील दिनहरु खेर जानबाट बचाउँछ। यसबाट प्रत्येक वर्ष नेपालले दश अर्ब रुपैयाँ (अनुमानित १५ करोड ३० लाख अमेरिकी डलर) गुमाउनु परिरहेको छ, जुन रकम नेपालको कुल गार्हस्थ उत्पादनको ४ प्रतिशतभन्दा बढी हुन आउँछ (नेपाल राज्यको सरसफाइ प्रतिवेदन २००४ का अनुसार)। खानेपानी र सरसफाइ क्षेत्रमा लिइएका लक्ष्यहरु हासिल गर्नका लागि विद्यमान नीतिहरुलाई व्यवहारमा लागू गराउन, सफल ठहरिएका र अनुसरणयोग्य पद्धतिहरुको प्रवर्धन गर्न साथसाथै उचित समन्वय र सहकार्यबाट सरसफाइसम्बन्धी चेतना बढाउन आवश्यक छ।
श्रोतहरु

|
Case Studies From the Field

|
|
 |
 |
|
ताजा खबर
|
 |
|
|